दिनेश फाउण्डेसनद्वारा ओलम्पिकको तयारी गर्न गोपिचन्द्रलाई ३ लाख ६० हजार सहयोग

धनगढी : टोकियो ओलम्पिक खेल्नबाट वञ्चित गराइएका म्याराथन धावक गोपीचन्द्र पार्कीलाई आगामी ओलम्पिकको तयारी गर्न दिनेश फाउण्डेसनले सहयोग गर्ने भएको छ।सन २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको तयारीका लागि फाउण्डेसनले पार्कीलाई तीन लाख ६० हजार आर्थिक सहयोग गर्ने भएको हो। ३६ महिनासम्म फाण्डेशनले प्रत्येक महिना १० हजारका दरले पार्कीलाई रकम उपलब्ध गराउने अध्यक्ष श्याम हमालले बताए।  उनले भने, ‘ टोकियो ओलम्पिकमा अन्तिम समयमा आएर सहभागी हुन नपाउनु भएको रहेछ। दुःख लाग्यो। उहाँले २०२४ को ओलम्पिकमा मेरिटका अधारमा सहभागी हुन्छु भन्दै हुनुहुन्थ्यो। उहाँ सुदूरपश्चिमको हुनुहुँदो रहेछ। त्यसैले सहयोग गर्ने सोच बनाएको हुँ।’नेपाल एथलेटिक्स संघ, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदले अन्तिम समयमा आएर संयुक्त वक्तव्यमार्फत टोकियो ओलम्पिकका लागि छनोट गरिएका गोपीचन्द्र प्राविधिक कारणले खेल्न नपाउने जानकारी दिएको थियो। पार्कीले टोकियो आलम्पिकका लागि सहभागी हुन ऋण निकालेर तयारी गरेका थिए। दिनेश फाउण्डेसनले सहयोग गर्ने घोषणा गरेपछि उनले भने, ‘म ओलम्पिकका लागि छनोट भइसकेको थिए। तर मलाई हतोत्साहित पार्न खोजिएको हो। तर म हुँदैन्। दिनेश फाउण्डेशनको यो सहयोगले धेरै सहज हुनेछ। म एशियाली खेलमा गोल्ड मेडल ल्याउँछु। ओलम्पिकका लागि समेत तयारी गर्छु।’ धावक पार्कीको घर धनगढी हो।कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले दिनेश फाउण्डेशनको सहयोगले निकै सहज हुने विश्वास व्यक्त गरे। धनगढी उप–महानगरपालिकाले समेत सहयोगका लागि छलफल सुरु गरेको उनको दाबी छ। ‘खेलाडी देशको गहना हो। सबैले सहयोग गर्नुपर्छ। सुदूरपश्चिमले नेपालको खेलकुदमा आधा भाग ओगटेको छ,’ उनले भने।