म्याराथुन धावक गोपीचन्द्र पार्कीलाई आर्थिक सहयोग

ओलम्पिकमा सहभागी हुन नपाएका गोपी चन्द्र पार्कीलाई आर्थिक सहयोग गर्दै दिनेश फान्डेशनका अध्यक्ष र प्रमुख अथिति धनगढी उपमहानगरपालिकामा मेयर नृप बहादुर ओड ।

धनगढी : यसपालीको ओलम्पिकमा सहभागी नगराइएका सुदूरपश्चिमका म्याराथुन धावक गोपीचन्द्र पार्कीलाई दिनेश फाउन्डेशनले आर्थिक सहयोग र सम्मान गरेको छ । फाउन्डेशनले पार्कीलाई पेरिसमा हुने ३३ औं ओलम्पिकको तयारीका लागि तीन लाख ६० हजार रकम आर्थिक सहयोग गरेको हो ।                                                                                                                                                                            फाउन्डेशनले आफ्नो वार्षिकोत्सवका अवसरमा पार्कीलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मानित गरेको छ । पार्कीले नेपाल ओलम्पिक कमिटिले आफूलाई चीनमा भएको ३२ औं ओलम्पिक खेलकुदमा सहभागी हुनबाट बञ्चित पारेको गुनासो गर्दै आएका थिए ।

सुदूरपश्चिमको धनगढी उपमहानरपालिका ९ घर भएका पार्कीले १३ औं दक्षिण एशीयाली खेलकुदमा ८ हजार मिटर र ५ हजार मिटर दौडमा दोहोरो स्वर्ण जितेका थिए । समयमै ओलम्पिकमा जानका लागि आवेदन हालेका उनलाई म्याराथुनमा स्ट्यान्डर्ड समय नपुगेको बहाना बनाएर सहभागी हुनबाट बञ्चित गरिएको थियो ।‘मेरो इन्ट्री समयमा नगरी दिएका कारण म ओलम्पिकमा सहभागी हुन पाएन, म्याराथुनमा केही स्टेन्डर्ड हुँदैन, त्यो बहाना मात्रै हो, ‘उनले भने । उनले म्याराथुन र स्वीमिङमा भाग नदिने देशलाई ओलम्पिक कमिटिले जरिवाना गर्ने गरेपनि आफूलाई सहभागी हुनबाट बञ्चित गरेको बताए ।

उनले आफ्नो ठाउँमा सय मिटर दौडका लागि सरस्वती चौधरीलाई पठाएको गुनासो गरे । ‘साख खेलकुदमा दोहोरो स्वर्ण जिते, अरुले ट्रेनिङका लागि दैनिक ५ सय डलरका हिसाबले भत्ता पाउँछन्, तर मैले आफ्नै रकमले ओलम्पिकमा सहभागिताका लागि तालिम लिएँ, तर अन्तमा मलाई ‘डिस्ट्रोय’ गर्न खोजियो’ पार्कीले गुनासो गरे ।

उनले दिनेश फाउन्डेशनले गरेको आर्थिक सहयोगले आफूले तालिम गर्ने र अबको ३३ औं ओलम्पिकमा नेपालका लागि पदक जितेर ल्याउने दाबी गरे । गोपी चन्द्र पार्की अहिले एपीएफमा छन् । उनी नेपालका हरेक म्याराथुनमा पहिलो हुँदै आएका छन् । सामान्य परिवारमा जन्मेका पार्की, ४२ किलोमिटरको म्याराथुनको रेकर्ड ब्रेक गर्ने दाबी गर्छन् ।

सुदूरपश्चिमको पनि दलित परिवारमा जन्मिएका पार्कीलाई ओलम्पिकमा सहभागी नगराएको थाहा पाएपछि आफूले उनलाई ट्रेनिङमा सहज होस भनेर सहयोग गरेको दिनेश फाउन्डेशनका अध्यक्ष श्याम हमालले बताए ।

‘बीबीसीमा गोपीको अन्तवार्ता सुने, उनले तालिमका लागि पनि धेरै रकम खर्च गरेको तर अन्तमा ओलम्पीकमा सहभागी हुन नपाएको गुनासो गरेका थिएँ, त्यही सुनेर सानो सहयोग गरेको हुँ,’ हमालले भने ।

उनले खेलाडीका लागि पदक जित्नु पछिको कुरा भएपनि ओलम्पिकमा प्रदेश वा देशको प्रतिनिधित्व गर्न पाउनु पनि ठूलो कुरा रहेको बताए । ‘कुनै प्रतिभालाई ओलम्पिकमा सहभागी मात्र हुनु पनि देश र उसका लागि महत्वपूर्ण हुन्छ, गोपीलाई सहभागी हुनबाट बञ्चित गराएको सुन्दा दु:ख लागेको छ, ‘हमालले भने ।

एकसय एक पिन्ट रक्तदान

दिनेश फाउन्डेशनले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ । हरेक वर्ष फाउन्डेशनले आफ्नो वार्षिकोत्सवका अवसरमा साताव्यापी रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । ‘दाताहरुले एक सय एक पिन्ट रगत दिएका छन्, रक्तदान जीवन दान हो, ‘फाउन्डेशनका अध्यक्ष श्याम हमालले भने।